काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न नाममा नेपाली मनलाई विभाजित गर्ने र अराजकता तथा साम्प्रदायिक विद्वेष मच्याउने प्रयास भइरहेकाले त्यस्ता क्रियाकलापलाई मौलाउन नदिइने स्पष्ट गरेका छन् । सशस्त्र प्रहरी बल, सिसं-१६, सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अराजकता र कानुन विपरीतका क्रियाकलाप सफल हुन त के मौलाउन पनि नदिइने स्पष्ट गरेका हुन् । राष्ट्रिय सशस्त्र प्रहरी बल प्रतिष्ठान, मातातीर्थमा आयोजित समारोहमा प्रधानमन्त्री ओलीले प्राकृतिक विपद्लगायत अन्य परिस्थितिलाई सामना गर्दै मुलुकको शान्ति स्थापना कार्यमा तैनाथ हुन लागेकामा सहभागी प्रहरी अधिकृतलाई शुभकामना दिँदै बललाई प्रभावकारी बनाउन र सुविधा बढाउने विषयमा कानुनमा आवश्यक संशोधनको तयारी भएको जानकारी दिएका छन् । प्रधानमन्त्री ओलीले सीमा क्षेत्रको सुरक्षालाई सशस्त्र प्रहरीले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै सङ्गठनको क्षमता, उचाइ र कामलाई अझ माथि उठाउन शुभकामना दिएका छन् । समारोहमा गृहमन्त्री रमेश लेखक, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, लोकसेवा आयोगका अध्यक्ष माधव रेग्मी, मुख्यसचिव एकनारायण अर्याल, प्रधानसेनापति अशोकराज सिग्देल, गृह मन्त्रालयका सचिव गोकणर्मणि दुवाडी, प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललगायत उपस्थिति थिए । यसैबीच उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले इतिहासलाई भुलेर राम्रो भविष्य निर्माण हुन नसक्ने बताएका छन् । बनेपा बुडोलमा रहेको काभ्रे बहुमुखी क्याम्पसको छैटौँ क्याम्पस सभालाई सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले इतिहासबाट पाठ सिकेर सुन्दर भविष्य निर्माणमा लाग्न युवाहरूलाई आग्रह गरेका छन् । काभ्रेमा सामुदायिक स्तरबाट सस्तो र गुणस्तरीय शिक्षा प्रवाहमा काभ्रे बहुमुखी क्याम्पसले गरेको योगदानको उपप्रधानमन्त्री सिंहले प्रशंसा गर्दै आगामी दिनमा अझ दक्ष शैक्षिक जनशक्ति उत्पादनमा योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन् । त्यसैगरी कृषि तथा पशुपंछी विकासमन्त्री रामनाथ अधिकारीले ठूलो रकम अनुदान लिएकाहरूको फाइल अध्ययन गर्न सुरु गरिएको बताएका छन् । नेपाल किसान महासंघ बाँकेद्वारा कोहलपुरमा आयोजित ‘एक दिने कार्यशाला गोष्ठी तथा अन्तरसंवाद कार्यक्रम’ लाई सम्बोधन गर्दै मन्त्री अधिकारीले ठूलो रकम अनुदान लिएकाहरूको फाइल अध्ययन गर्न तीन सदस्यीय समिति बनाइएको जानकारी समेत दिएका छन् । समितिले छिटै अध्ययन सक्ने र अनुदान लिएकाहरूको नाम सार्वजनिक गरिने मन्त्री अधिकारीले बताएका छन् । कृषि अनुदानको सहि सदुपयोग होस भन्ने आफ्नो चाहाना रहेकोमा मन्त्री अधिकारीले जोड दिएका छन् । उनले आफ्नो तर्फबाट सक्दो काम गर्ने बताउँदै मन्त्रालयबाट निस्कँदा निष्कलंक भएर निस्कने दृढता व्यक्त गरेका छन् । मन्त्री अधिकारीले कोहलपुरमा पाउडर प्लान्ट स्थापना गर्ने विषय आफ्नो प्राथमिकतामा परेको समेत बताएका छन् । उनले आफूले मन्त्रालय सम्हालेपछि दुध र उखुको बाँकी बक्यौता रकम भुक्तानी तथा बाली बीमाको रकम उपलब्ध गराउन सफल भएको बताएका छन् ।