काठमाडौं । आस्था र भक्तिको पर्व छठको रौनक तराई मधेश लगायत देशका अन्य जलाशय तथा पोखरीमा देखिएको छ । विशेष गरी छठको रौनक मधेश प्रदेशको वीरगन्ज सहितका अन्य जिल्लाहरुमा दुई दिन अगाडिबाट नै शुरु भएको हो । वीरगन्जको घडीअर्वा पोखरीलाई दुलही झैं सिंघारिएको छ । यो परिसरमा रहेको पोखरीमा हरेक बर्ष लाखौं भक्तजनहरुले छठ पूरा गर्ने गर्दछन् । तराई मधेश, पहाड र हिमाल जोड्ने छठ पर्व अहिले सेतुको रुपमा रहेको छ । वीरगन्जमा बसोबास गर्ने मधेसीसहित पहाडी समुदायका श्रद्धालु पनि छठपर्वको दिन बकैया तटमा पुग्ने गर्छन् । सूर्यदेवको आराधना र उपासना गर्नेमा कयौं व्रतालुहरु पहाडीया समुदायका पनि हुन्छन् । वीरगन्जको छपकैंया क्षेत्रका केही मुस्लिम समुदायले समेत छठ मनाउन थालेका छन् । छठपर्व विशेषगरी तराईवासीले मनाउने गरे पनि पछिल्लो समय दुवै समुदायले भक्तिभावले मनाउने गरेको संस्कृति बिद्हरुको भनाइ छ । वीरगन्ज सहित यस आसपासका क्षेत्रहरु बाराको जीतपुरमा छठ पर्वको रौनक बढेको देखिन्छ । यसैबीच सूर्यदेवको उपासना गर्दै चार दिनसम्म श्रद्धापूर्वक मनाइने छठ पर्व मंगलवारदेखि विधिवत् सुरु भएको छ । छठ पर्वको पहिलो दिन मंगलवार नहाय खाय मनाएका छन । ब्रतालुले स्नान गरी अरबा-अरबाइन भोजन ग्रहण गर्ने गर्छन् । पारिवारिक सुख-समृद्धि एवं सन्तानको कल्याणका लागि मनाइने यस पर्वको दोस्रो दिन बुधवार खरना परेको छ । बुधवार साँझ ब्रतालुले चामल, सक्खर र दूधबाट तयार गरिएको खीर प्रसादको रूपमा ग्रहण गरी खरना विधि पूरा गरेका छन् । तेस्रो दिन बिहीवार छठको मुख्य दिन रहेको छ । यो दिन साँझ अस्ताउँदो सूर्यलाई पूजा सामग्री सहित जलाशय किनारमा अघ्र्य दिने परम्परा छ । अन्तिम दिन शुक्रवार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठ पर्वको विधिवत् समापन हुने गर्दछ । यस दिनलाई पारन भन्ने गरिन्छ । छठ पर्वमा बाँसको ढाकी, डग्री, माटोको कोसिया कुरबार, हात्ती लगायतको सामग्रीहरु चढाइन्छ । त्यस्तै प्रसादको रुपमा ठकुवा, भुसुवा, केरा, खाजा, उखु, हल्दी, अदुवा, तरकारी एवं विविध प्रकारको मिठाई तथा फलफूल आदि सूर्यदेवलाई अघ्र्यको रुपमा चढाउने गरिएको छ । छठ पर्वमा विशेष गरी अर्घ दिन ब्रतालुले ४८ घण्टा अन्न र पानी त्यागेर व्रत बस्ने परम्परा रहेको छ । यसकारण छठ पर्वलाई निष्ठाको कठोर साधना मानिन्छ । अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिन चढाइएको सामग्री प्रसादको रूपमा ग्रहण तथा वितरण गर्ने चलन छ । त्यस कारण यस पर्वलाई सामाजिक सद्भाव र एकताको प्रतीक मानिन्छ । यसैबीच नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वउपसभापति गोपालमान श्रेष्ठले आगामी निर्वाचनमा नेपाली कांग्रेसले कुनै दलसँग गठबन्धन नगर्ने बताएका छन् । नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नं २ ले वालिङमा आयोजना गरेको नेता कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता श्रेष्ठले अब हुने सबै निर्वाचनमा नेपाली कांग्रेस गठबन्धन बिना प्रतिस्पर्धामा उत्रने बताएका हुन् । त्यसका लागि तयारीमा लाग्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । त्यसैगरी विश्व बैंकको सहयोगमा नेपालमा सञ्चालन गरिने करिब ७२ अर्ब रुपैयाँ बराबरका पाँचवटा आयोजनाको तयारी फास्ट ट्रयाकमा गरिने भएको छ । अर्थ मन्त्रालयमा बसेको बैठकले पूर्व पश्चिम राजमार्गको बागमती-पथलैया खण्ड विस्तार, तेस्रो पुल तथा सुधार तथा सम्भार, विद्युत वितरण प्रणाली आधुनिकीकरण तथा सुधारको आयोजनाको पूर्व तयारी छिटो सम्पन्न गर्ने निणर्य गरेको हो । यसैगरी तेस्रो चरणको रानीजमरा कुलरिया सिँचाइ र पहुँच तथा उत्थानशिलताको लागि डिजिटल सेवा रूपान्तरण सम्बन्धी आयोजनाको तयारी पनि फास्ट ट्रयाकमा गर्ने निणर्य भएको छ । विश्व बैंकको सहुलियतपूणर् ऋण लगानीमा सञ्चालित हुने आयोजनाहरूको सम्बन्धित मन्त्रालयले सरोकारवालासँग छलफल गरी पूर्व तयारी गर्नेछन् भने आवश्यकता अनुसार अर्थ मन्त्रालयले सहजीकरण गर्ने बताइएको छ । बैठकले सन् २०२५ को फेब्रुअरीसम्ममा आयोजनासँग सम्बन्धित सबै विषयको टुङ्गो लगाइ पूर्व तयारीका काम सक्ने निणर्य भएको छ । तयारी पूरा भएपछि सन् २०२५ को मार्चमा बस्ने विश्व बैंकको बोर्ड बैठकमा ती आयोजनाका प्रस्तावहरू पेश गरिने योजना रहेको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आयोजनाहरूको पूर्व तयारीमा विशेष ध्यान दिन र आयोजनाहरू स्वीकृत भएपछि कार्यान्वयनमा तदारुकताका साथ लाग्न निर्देशन दिएका छन् ।