-परमानन्द झा-
पढ्नका लागि भारतीय किताब हुन्थे । तिनै किताबबाट हामीले अक्षर चिन्यौ । बोर्डमा खरीले लेखेर पढाइ हुन्थ्यो, त्यो बेला । सायद भारतको नजिक भएर पनि होला, पढाइ राम्रो नै थियो । सुरुमा अ, आ, इ, ई पढेको म अझै सम्झन्छु । लेख्दै, मेट्दै गर्न मिल्ने कापी हुन्थ्यो हाम्रो ।
हामीले त्यसरी नेपाली त पढ्यौ तर अंग्रेजी भने उहाँले पढाउनुभएन । हामीले ए, बी, सी, डी, ई चाहिँ ८ कक्षामा गएपछि मात्र पढेको हो । त्यो बेला गणित भनेको जोड, घटाउ, भाग, गुणन मात्र हो । सवैयादेखि अढैया मौखिक रुपमा सिकाइन्थ्यो ।
एक अढैया भनेको अढाई, दुई अढैया पाँच, तीन अढैया साढे सात, चार अढैया १० हुन्छ । यो कण्ठ भयो भने हिसाब सजिलो हुन्थ्यो । त्यो बेलाको पढाइ बुझाईमा होइन घोकाइमा आधारित थियो ।
हामी १५ जना थियौ । जसले चाँडो राम्रोसँग कण्ठ गर्छ र जसको स्वर ठूलो छ, उसैले पढाउने जिम्मेवारी पनि पाउँथ्यो । उसले त्यसरी अरु बस्नेलाई दुई एकान दुई, दुई दुना चार, दुई तिना छ, दुई चौका आठ, दुई पञ्चे दश आदि पढाउँथ्यो । दश/एघार वर्षसम्म मैले त्यसरी नै पढेको हो ।
स्कुल जान हामीलाई अनुकुल थिएन । हाम्रो गाउँनजिकै कतै पनि स्कुल थिएन । हामीले जान्ने सामान्य क, ख, ग, घ आदि पढाइ सकेपछि भारतको स्कुलमा पढाइने विभिन्न प्रकारका किताबहरु ल्याइन्थ्यो । त्यही बेला हो हामीले भारतको इतिहास पढेको ।
हामी सबै कक्षाका विद्यार्थी एकै ठाउँमा बसेर पढ्थ्यौ । हामी कहिले पासफेल हुँदैनथ्यौ । हामीलाई पढाइन्थ्यो मात्र, परीक्षा लिने चलन नै थिएन । ती दिनहरुमा पढाइका लागि धेरै समस्या थियो । स्कुल मात्र हुन्थ्यो, होस्टेलको व्यवस्था हुँदैनथ्यो । त्यसरी पढाइ गर्न जाँदा आफन्तकहाँ गएर बस्नुपथ्र्यो । यस्ता अप्ठ्याराहरुका कारण पनि मेरो पढाइ राम्रो हुन सकेको थिएन ।
अलि जान्ने भएपछि एकैचोटि भारतको मधुवनी भन्ने ठाउँमा रहेको वार्सन स्कुलमा मलाई कक्षा ६ मा भर्ना गरियो । ठूलो काकाको ससुराली राटी भन्ने ठाउँमा थियो । म उहाँकै संरक्षण र अभिभावकत्वमा त्यहाँ बसेँ, जहाँबाट मेरो स्कुल २ किलोमिटर पर थियो । क्रमशः