काठमाडौं । उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले साना दलका कारण मुलुक अस्थीर भएकाले ठूला दल मिलेर सरकार बनाउनुपरेको बताएका छन् । ललितपुरमा नेपाल प्रजातन्त्र सेनानी संघको दोश्रो जिल्ला सम्मेलन उद्घाटन गर्दै नेता सिंहले जनताले म्यान्डेड दिएका ठूला दलभन्दा पनि साना दलको नेतृत्वमा पटकपटक सरकार बन्ने र सरकार परिवर्तन हुँदा मुलुक अस्थिरतातर्फ गएकाले ठूला दल मिलेर सरकार बनाउनुपरेको बताएका हुन् । उनले ठूला दल मिलेर बनेको सरकारले पनि केहि गर्न नसके जनतामा थप निराशा छाउने भएकाले गम्भीर भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् । सिंहले मुलुकमा प्रजातन्त्र ल्याउन कांग्रेसले अग्रणी भूमिका खेलेको भन्दै आगामी दिनमा मुलुकलाई विकास र समृद्धितर्फ लैजान पनि मुख्य भूमिका निर्वाह गर्नुपर्ने धारणा राखेका छन् । यसैबीच नेपाली कांग्रेसका सांसद एवं नेता डा. शेखर कोइरालाले संविधानलाई अक्षरशः पालना गरेर कानून बनाउनुपर्नेमा जोड दिएका छन् । काठमाडौंमा ‘अभिव्यक्ति स्वतन्त्रताको कसीमा सामाजिक सञ्जाल विधेयक-२०८० ’ बारे बोल्दै उनले यस्तो धारणा राखेका हुन् । उनले संविधानको पालना गरेर कानून बनाउनुपर्नेमा नागरिकलाई सजाय दिने किसिमले मात्रै कानून बन्ने गरेको बताएका छन् । सरकार सधैँ निरङ्कुश हुने भन्दै स्टक होल्डहरूसँग बसेर छलफल गरेर मात्रै कानूनहरु बनाउनु उचित हुने उनको भनाइ थियो । नेता कोइरालाले सामाजिक सञ्जाल विधेयक पुनः लेखन नै गर्नुपर्ने माग समेत गरेका छन् । सामाजिक सञ्जालको विषयमा बनाइने कानून स्टेक होल्डरहरुसँग गहन छलफलपछि मात्रै अघि बढाउनुपर्ने उनले सुझाव दिएका छन् । त्यसैगरी काठमाडौं जिल्ला अदालतले २१ वर्षदेखि मारवाडी सेवा समितिको कब्जामा रहेको पशुपति क्षेत्र विकासको स्वामित्वको पशुपति गौशाला धर्मशालाको सम्पूणर् जग्गाजमीनमा मोहियानी हक नलाग्ने फैसला गरेको छ । न्यायाधीश कमलप्रसाद पोखरेलको इजसालले असोज १६ गते गरेको फैसलाको पूणर्पाठमा पशुपति गौशाला धर्मशालाको साविक पशुपति वडा नं. २ को कित्ता नम्बर ८३ को चार रोपनी १५ आना दुई दाम र कित्ता नम्बर ८५ को चार रोपनी १० आना जग्गामा समितिको मोही हक नलाग्ने ठहर्याइएको हो । फैसलामा धर्मशालाको जग्गामा आफ्नो मोही हक रहेको दावी गरेपनि सो जग्गामा समिति मोही रहेको तथ्य अस्वीकार गरिएको भनिएको छ । ‘साविक समयदेखि पशुपति गौशाला धर्मशाला नामक कुनै पनि संस्था अस्तित्वमा रहेको देखिँदैन । सो तथ्यलाई वादी मारवाडी सेवा समितिले २०६० जेठ १२ गते पशुपति अमालकोट कचहरीसँग सम्झौता गर्दा स्वीकार गरेको देखिन्छ,’ फैसलामा भनिएको छ । फैसलामा जग्गा श्री पशुपति अमालकोट कचहरीमा दर्ता भएका गुठीको जग्गा भन्ने तथ्यमा विवाद नदेखिए पनि श्री पशुपतिनाथ अमालकोट कचहरीबाट मोही दर्ता भइ मोहीदर्ताको प्रमाण पूर्जा प्राप्त गरेको भनी सोको छाँया कपी पेश गरी सो दर्ता अभिलेखमा दावीको जग्गाको मोही महलमा श्री पशुपति गौशाला धर्मशाला रहेको तथ्यलाई मुख्य आधार लिएको देखियो भनिएको छ ।