– अर्जुननरसिंह के.सी. –
२०३७ साउन ८ गते उहाँले लाजिम्पाट काठमाडौ स्थित एक रोपनी १० आना क्षेत्रफलमा अवस्थित करिब रु दश करोड मूल्य बराबरको निजी निवास, पुस्तकालय, संग्रहालयसहित सम्पूणर् परिसरको चल अचल सम्पत्ति डिल्लीरमण कल्याणी रेग्मी स्मारक पुस्तकालयको नामकरण गरी शेषपछिको बकसपत्रको रुपमा तत्कालीन श्री ५ को सरकारलाई रजिस्ट्रेसन गरी दिनुभयो । ८८ वर्षको उमेरमा २०५८ भदौ १४ गते उहाँको निधन भयो ।
सुन्दरराज चालिसे ः एक यस्तो क्रान्तिधर्मी, जसले आफू आजीवन समर्पित भएको पार्टीलाई दियोमात्र, तर जीवनमा कहिल्यै लिएन, पाएन र आसा पनि गरेन । जसले जस्तो सुकै हण्डर र कष्ट पाए पनि गलत पक्षसँग कदापि सम्झौता गरेन । त्यो प्रतिष्ठित व्यक्तित्वको नाम हो सुन्दरराज चालिसे । १९९७ सालदेखि २०४६ को जनआन्दोलनसम्म लोकतान्त्रिक आन्दोलनका घटनाक्रमको सक्रिय साक्षी मात्र होइन इतिहास निर्माताकै रुपमा उहाँको नाम स्थापित छ । नेपाली काँग्रेसको झण्डा डिजाइन गर्नमा उहाँको महत्वपूणर् भूमिका छ ।
१९९७ सालमा २२ वर्षे उमेरदेखि नै उहाँ प्रजापरिषदले चलाएको व्यापक पर्चावाजीमा सक्रिय रुपले पर्चा वितरण गरी राजनीतिमा लाग्नुभएको थियो । २००३ सालमा नेपाली राष्ट्रिय काँग्रेस स्थापना हुँदा सुन्दरराज राष्ट्रिय काँग्रेसमा नै हुनुहुन्थ्यो । तर बीपी र डा. डिल्लीरमण रेग्मीका बीच अध्यक्षको पदमा विवाद चर्किदै गएपछि सारा कार्यकर्ता बीपीको पक्षमा भए ता पनि डा. रेग्मीले अध्यक्ष पद ओगटेर निष्कृय बसिदिँदा धेरै कार्यकर्ताहरुमा विचलन पैदा भयो । नेपालभित्रको आन्दोलनमा पनि ठूलो व्यवधान देखापर्न थाल्यो । त्यसपछि सुन्दरराज लगायत प्रेमबहादुर कंसाकार र बाबुकृष्ण शर्मा एकैपटक राष्ट्रिय काँग्रेस छोडेर नवस्थापित नेपाल प्रजातन्त्र काँग्रेसमा आबद्ध हुनुभयो ।
सुन्दरराजकी धर्मपत्नी सुशीला चालिसेले क्रान्तिको लागि महत्वपूणर् भूमिका निर्वाह गर्नुभएको थियो । सेनालाई हात लिएर भड्काई मुक्तिसेनामा भर्ना गराउने, राजा त्रिभुवन र काँग्रेसका भूमिगत नेताहरुको संवांद तथा पत्राचार गराउने जस्ता साहसी काम उहाँले गर्नुभएको थियो । नेपालको लोकतान्त्रिक आन्दोलनकी वीरांगनाको रुपमा उहाँको नाम इतिहासमा अंकित छ ।
२००५ सालमा स्थापित नेपाल प्रजातन्त्र काँग्रेसमा आवद्ध भएपछि भारत प्रवासमा रहन बाध्य नेपालीहरु, आजाद हिन्द फौजका नेपाली जवानहरुलाई मुक्तिसेनामा भर्ना गर्न र हातहतियारको जोहो गनृ उहाँ भारतका नेपाली बसोबासका गढहरुमा पुग्नुभयो । २००६ सालमा दुवै काँग्रेसको एकीकरण भएपछि नेपाली काँग्रेसको एक इमान्दार सेनानी भएर जनक्रान्ति सफल बनाउने हर उपायमा उहाँ समर्पित रहनु भयो । २००६ सालमा इन्द्रजात्राकै दिन राणाहरुमाथि हमला गर्ने जनक्रान्तिको रणनीति बोकेर गोप्य रुपले काठमाडौ आउनुभएका गणेशमान सिंहसँग उहाँ र मुक्तिसेनाका केही लडाकुहरु पनि हुनुहुन्थ्यो । त्यो योजना राणा शासनले थाहा पाएपछि पक्राउ गरी मृत्युदण्ड दिने तयारी गर्न थाल्दा राजा त्रिभुवन सपरिवार भारततर्फ गएपछि परिस्थितिले अर्कै रुप लिएकोले उहाँहरु बाँच्नुभयो । निधनको दिन (८१ वर्षको उमेर), २०५४ फागुन १२ गतेसम्म नै उहाँ राजनीतिक रुपले सक्रिय हुनुहुन्थ्यो ।
सहिद योगेन्द्रमान शेरचन ः
नेपाली काँग्रेसको दोस्रो पुस्ताका नेताहरुमा योगन्द्रजी जतिको बहुआयामिक, बहुप्रतिभाले सम्पन्न र पूणर्ताको व्यक्तित्व विरलै होलान् । आजको कालखण्डसम्म उहाँ बाँचिरहेको भए सर्वोच्च नेतृत्वको सम्भावना उहाँमा प्रचूर थियो । दिलिपकुमार डीके शाहीजस्ता उहाँका समकालीनले उहाँलाई पहराको चेपबाट निक्लेको हिरा भन्ने गर्नुहुन्थ्यो भने सबैले नेपाली राजनीतिका अजातशत्रु भनी मानेका थिए । क्रमशः