– प्रा.डा. जयराज आचार्य/ विवेक गौतम –
कोमल नारायणलाई कलिलै उमेरमा घरमूलीको कार्य गर्नु परेको थियो । उनले भाईबहिनीको पढाइ, उनीहरुको विवाह लगायत अन्य आवश्यकता पूरा गर्नुपर्ने थियो । उनको समय समयमा सरुवा हुन्थ्यो र गोरखामै हुँदा पनि फिल्डरको काममा जानुपर्दथ्यो । उनीहरुको परिवारमा सबल र सुमधुर सम्बन्ध थियो, आमाको निर्देशन र छोराछोरीको आज्ञापालन हेर्न लायकको थियो । आमाको एउटा महत्वपूणर् चरित्र भनेको आफ्ना छोरा, छोरी र बुहारीहरुमा अनुशासनको महत्व बुझाउन सक्नु थियो । परिवारको हरेक सदस्यले आफ्ना कर्तव्य पूरा गर्नुपर्दथ्यो । ठूला दाजु दिदीहरुले साना भाई बहिनीको हेरचाह गर्नुपर्दथ्यो र साना भाई बहिनीले ठूलाको सम्मान गर्नुका साथै उनीहरुले देखाएको बाटो हिँड्नुपर्दथ्यो । यस्तो पारिवारिक संस्कृति आमाको देहावसानपछि पनि परिवारमा रहिरह्यो । परिवारलाई नजिकबाट चिन्ने लक्ष्मणबाबुका मावली भाई धीरज बहादुर मास्केले वणर्न गर्दछन् ।
आमाको कडाइ र दाजु दिदी र भाउजुहरुको माया पाएका ठूलो कान्छा लक्ष्मण बाबु को आफ्नै विशेष किसिमको चरित्र निर्माण हुँदै गयो । उनले एउटा गाउँले बालकले जीवन जिउने तरिकाले दिनहरु व्यतीत गर्न थाले । उनी एउटा सहयोगात्मक, एकताबद्ध परिवार, हितैषी छरछिमेकी, एक आपसको निर्भरता, साथीहरुसँगको मित्रता, वातावरणीय स्वच्छता र गाउँले रमाइलो वातावरणमा ठूलो हुँदै गए । सानो हुँदा उनी लंगुर बुर्जा खेल्ने, भोगटेको फुटबल खेल्ने गर्दथे भनेर उनका साहिँला दाजु राम बाबु भन्छन् । तर उनको खासै जिम्मेवारी हुँदैनथ्यो, उनी साथीभाईसँग खेल्न र घुम्न रुचाउँथे ।
लक्ष्मण बाबुका दाजुहरु खासगरी जेठा कोमल र माहिला दाजु किशुन हुक्का, तमाखु तान्दै बेलुका बस्थे, दिनको समीक्षा गर्थे र अर्को दिनको योजना बनाउँथे । उनीहरु परिवारको व्यवस्थापन सम्बन्धी कुराहरु खुलेर छलफल गर्दथे । त्यतिबेलासम्म पनि लक्ष्मण बाबु सानै भएकाले उनी खेल्ने, घुम्ने र प्रकृतिसँग रमाउने काममै समय बिताउँथे । क्रमशः