श्रीमान् विदेश (मलेशिया) जाने भएपछि गुजरा नगरपालिका-८ जोगौलियाकी कुन्तीकुमारी चौधरीले डिप्रोस लघुवित्तबाट ६५ हजार ऋण लिइन् । विदेशबाट श्रीमानले पठाएको पैसाले ऋण चुक्ता गर्छु र छोराछोरीलाई राम्रो स्कुलमा पढाउँछु भन्ने सोचेर कुन्तीकुमारीले लघुवित्तबाट त्यो ऋण लिएकी थिइन् ।
तर, लघुवित्तको ऋणले उनलाई यसरी गाँज्यो कि त्यो पैसा तिर्न अहिले उनले मिटरब्याजमा समेत ऋण लिएकी छिन् । श्रीमानले विदेशबाट पठाएको पैसा लघुवित्तको ब्याज तिर्नै ठिक्क भएपछि घर-खर्च चलाउन अर्को लघुवित्तबाट थप ऋण लिइन् ।डिप्रोसबाट लिएको ऋण तिर्न उनले निर्धन लघुवित्तबाट १ लाख रुपैयाँ ऋण लिएकी थिइन् । मलेशिया गएका उनका श्रीमान् बिरामी भएर दुई वर्षमै घर फर्किए । त्यसपछि, ‘बैंक (लघुवित्त) को ऋण तिर्न तीन जना महाजनसँग ३६ प्रतिशत ब्याजमा तीन लाख ऋण लिएकी छिन् । ऋणको दलदलमा फसेकी कुन्तीकुमारी त्यहाँबाट उम्किने बाटो खोज्दा झन्-झन् दलदलमा फसिरहेकी छिन् ।
यतिखेर उनको दैलोमा हरेक दिनजसो लघुवित्तका कर्मचारी र साहुका मान्छे आउँछन् । ‘ऋण तिर, तिर्न सक्दैन भने पोखरीया मे डुब के मरिजा भन्छन्’, कुन्तीकुमारी भन्छिन् ।
जोगौलिया गाउँमा अनलाइनखबरले भेटेका ४० भन्दा बढी महिला सबैले लघुवित्त र मिटरब्याजी साहुले दैनिक तनाव दिने गरेको सुनाए । लघुवित्त र मिटरब्याजी साहुले मोटसाइकल पछाडि बाँधेर सडकमा घिसार्छु भनेर समेत धम्की दिएको सुनाउँछन् यी महिलाहरू ।
लघुवित्तको ऋण-चक्रमा परेका देहातका महिला प्रायः लेखपढ गर्न जान्दैनन् । लेखपढ गर्न नजान्ने उनीहरूलाई आफ्नो ऋण कति छ भन्ने समेत थाहा छैन ।
मिर्गौला रोगी श्रीमानको उपचार गर्न लघुवित्तबाट ऋण लिएकी कौशर जहाँ लघुवित्तको ऋण तिर्न भनेर साहुको दैलोमा पुगिन् । घडेरी दृष्टि बन्धक राखेर साहुको पैसा लिएकी उनलाई अहिले साहुले घर भत्काऊ जग्गा बेच्छु भनेर अत्याइरहेका छन् ।