काठमाडौं । पर्याप्त वर्षा नहुँदा नगदे बालीका रूपमा रहेको अलैंचीका बोट सुक्न थालेका छन् । ताप्लेजुङका ग्रामीण क्षेत्रमा लगाइएको अलैँची खेती सुक्न थालेपछि किसान चिन्तित बनेका छन् । यस वर्ष पर्याप्त वर्षा नहुँदा र लामो समय खडेरी परेका कारण अलैँचीका बोट सुक्न थालेका किसानले बताएका छन् । सिरीजङ्घा गाउँपालिका–७ खेवाङका गङ्गाराम भट्टराईले यस वर्ष पाइप तथा कुलोबाट समेत सिँचाइ गर्न नसकिएको बताए । उनले भने, ‘पाइप र कुलोबाट गरिएको सिँचाइले अलैँचीलाई पर्याप्त पानी पुगेन । आकाशको पानीले बोट फस्टाउने र उत्पादन वृद्धि हुन्छ ।’ फक्ताङलुङ गाउँपालिकाको तापेथोक बगरका किसानले पनि अलैँचीका बोट सुक्न थालेका बताएका छन् । खोला तथा खोल्साको पानी अलैँची बगानमा लगाए पनि अलैँची खेतीलाई पर्याप्त नभएको उनीहरूले बताएका छन् । लामो समय खडेरी परेकाले अलैँचीमा रोग कीराको समेत प्रकोप बढ्ने अलैँची व्यवसायी बालमणि बरालले बताए । रोग कीराले सिँचाइको अभावमा कमजोर बनेका बोटलाई सजिलै आक्रमण गर्ने र यसबाट क्षति पुग्ने उनको भनाइ छ । ताप्लेजुङमा करिब तीन हजार सात सय हेक्टर क्षेत्रफलमा अलैँची खेती हुने गरेको छ । केही दिनअघि फाट्टफुट्ट वर्षा भए पनि अलैँचीका लागि पर्याप्त नभएको किसानले बताएका छन् । लामो समयपछि फाट्टफुट्ट वर्षा भएर पुनः चर्को घाम लाग्दा अलैँचीलाई झन् असर हुने गरेको उनीहरूले बताए । खडेरीले बोट नै सुकेपछि अलैँची उत्पादन घट्ने भएकाले किसान चिन्तामा छन् । भने जस्तो मूल्य नपाइरहेका बेला उत्पादन समेत घटेमा समस्या हुने सिरीजङ्घाका किसान लक्ष्मण अधिकारीले बताए । हिमाली तथा पहाडी जिल्लाका किसानले अलैँचीलाई मुख्य आयस्रोतका रूपमा लिने गरेका छन् ।