काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको सपथसँगै राष्ट्रपति कार्यालय शीतल निवासमा पदभार ग्रहण गरेका छन् । उनले पदभार ग्रहण गर्दै राजदूत नियुक्तिको निर्णयमा हस्ताक्षर गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २८२ को (१) बमोजिम ईजिप्टका लागि नेपालका आवासीय राजदूत सुशीलकुमार लम्साललाई मोरक्को अधिराज्यका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरेका छन् । पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका हुन् । उनलाई राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पद तथा गोपनियताको सपथ गराएका हुन् । नेपालको संविधानमा राष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नु अघि सङ्घीय कानूनबमोजिम प्रधानन्यायाधीश समक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ । त्यसैगरी प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले बहराइनका सभामुख अहमद बिन सलमान अल मुसलामसँग शिष्टाचार भेटवार्ता गरेका छन् । अन्तरव्यवस्थापिका संघ (आईपीयु)को १४६ औं महासभामा भाग लिन मनामामा रहेका सभामुख घिमिरेले बहराइनका सभामुख मुसलामसँग भेट गरेका हुन् । सभामुख घिमिरेले आईपीयुको १४६ औं महासभा सफलतापूर्वक सञ्चालन गरेकोमा बहराइनको संसद्, बहराइन सरकार र सभामुखलाई धन्यवाद दिए । उनले नेपाली नागरिकलाई विभिन्न पेशामा रोजगारी प्रदान गरेकोमा बहराइन सरकारलाई धन्यवाद व्यक्त गरे । सभामुख घिमिरेले नेपालका आँखाका डाक्टर सन्दुक रुइतलाई हालै बहराइन सरकारले १० लाख अमेरिकी डलरको इशा अवार्ड प्रदान गरेकोमा पनि धन्यवाद दिए । जवाफमा बहराइनका सभामुख मुसलामले आफ्नो मुलुकमा नेपालीहरुले इमान्दारितापूर्वक काम गरेकोमा खुसी व्यक्त गरेका थिए । उनले दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउन उच्चस्तरीय भ्रमण लगायतका क्रियाकलापमा जोड दिए । त्यसैगरी एमाले संसदीय दलको उपनेतामा सुवासचन्द्र नेम्वाङ नियुक्त भएका छन् । अघिल्लो प्रतिनिधिसभाको कार्यकालमा पनि उनी एमाले संसदीय दलको उपनेता थिए । संसदीय दलका नेता तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले मौजुदा प्रतिनिधिसभाको कार्यकालका लागि नेम्वाङलाई उपनेतामा नियुक्त गरेका हुन् । नेता ओलीले प्रमुख सचेतकमा पदम गिरी र सचेतकमा महेश बर्तौलालाई नियुक्त गरेका थिए ।