काठमाडौं । उपराष्ट्रपति पदको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा उपराष्ट्रपतिका लागि मतदान हुँदैछ । संसद् भवनको ल्होत्से हलमा दुई मतदान केन्द्रको व्यवस्था गरिएको छ । बिहान १० देखि अपराह्न ३ बजेसम्म मतदानको व्यवस्था मिलाइएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ‘निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ’, सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले भने, ‘मतपत्र पनि केन्द्रमा आइसकेको छ ।’ सङ्घीय संसद्का सदस्य र प्रदेशसभा सदस्यका लागि छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको छ । सङ्घीय संसद्का सदस्यले संसद् भवनको मूल गेटबाट प्रवेश गरेर मतदान गर्नुहुनेछ भने प्रदेशसभाका सदस्यले बगैँचा तर्फको हरियो गेटबाट प्रवेश गरेर मतदान गर्ने व्यवस्था मिलाइएको उनले जानकारी दिए । निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचन, २०७९ का लागि दुई प्रकारको मतपत्रको व्यवस्था गरेको छ । सङ्घीय संसद्का सदस्यले मतदान गर्ने प्रयोजनका लागि रातो मसी र प्रदेशसभा सदस्यले मतदान गर्ने प्रयोजनका लागि हरियो मसीले मतपत्र छपाइ गरिएको छ । मतपत्रमा उम्मेदवारको तस्बिर र नाम समावेश गरिएको छ । उपराष्ट्रपतिको निर्वाचनमा अष्टलक्ष्मी शाक्य (बोहरा), प्रमिला कुमारी, ममता झा र रामसहायप्रसाद यादव गरी चार उम्मेदवार रहेका छन् । त्यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैदेशिक रोजगारीमा जाने युवालाई अनावश्यक दुःख नदिन निर्देशन दिनुभएको छ । गृह मन्त्रालय मातहतको विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै उहाँले वैदेशिक रोजगारीमा जाँदा युवाले अनेकौँ समस्या भोग्नुपरेको गुनासो आएको भन्दै सो निर्देशन दिनुभएको हो । प्रधानमन्त्रीले मन्त्रालयका वार्षिक स्वीकृत बजेट तथा कार्यक्रमका बाँकी काम समयमै सम्पन्न गर्न, मुलुकको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण तथा विकास निर्माणमा सहजीकरण गर्न समेत निर्देशन दिनुभयो । मन्त्रालयले अपराध नियन्त्रण, अनुसन्धान र अभियोजनलाई छिटोछरितो र विश्वसनीय बनाउनुपर्ने भन्दै उहाँले आपराधिक घटना नियन्त्रणका साथै माफिया, बिचौलिया, दलाली, घुसखोरीजस्ता बेथिति र विसङ्गतिको अन्त्य गर्नेतर्फ ध्यान दिनुपर्ने उल्लेख गर्न‘भयो । सार्वजनिक सेवा प्रवाहको वर्तमान सरकारी शैलीलाई परिष्कृत र वैज्ञानिक बनाइ नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्र लिँदा नागरिकहरूले महसुस गरिरहेको झन्झट र ढिलासुस्तीको अन्त्य गर्न प्रभावकारी कदम चाल्न पनि उहाँको निर्देशन छ । प्रधानमन्त्रीले सीमा व्यवस्थापन एवं राजस्व चुहावट नियन्त्रण कार्यमा थप जिम्मेवार भएर काम गर्न, सीमास्तम्भको संरक्षण र मर्मतसम्भार गर्ने कार्यलाई प्राथमिकतामा राख्न मातहतका निकायलाई निर्देशन दिनुभयो । मन्त्रालयले राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीका लागि नागरिकको विवरण संकलन कार्यलाई आगामी वर्षभित्र सक्ने गरी कार्य योजना बनाई काम गर्नेछ । मन्त्रालयले राष्ट्रिय परिचयपत्र छपाई र बितरणलाई छिटोछरितो बनाउने र राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीसँग अन्य सेवा प्रदायक निकायका विद्युतीय प्रणालीलाई छिटो आवद्ध गरी सेवा प्रवाहलाई सरलीकरण गर्ने भएको छ । त्यसैगरी नेकपा (एमाले) का उपमहासचिव एवम् पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनाको कामलाई तीब्र गतिका साथ अघि बढाउन सरकारलाई आग्रह गरेका छन् । भूराजनीतिक इस्यूहरुका कारण सो परियोजनाको काम अघि बढाउने कुरामा समस्या देखिएको उल्लेख गर्दै उनले अव सरकारले त्यसलाई छिटो भन्दाछिटो अघि बढाउनुपर्ने बताए । काठमाडौंमा आयोजित ‘चाईना बेल्ट एण्ड रोड इनिसिएटिभमा १० वर्षः नेपालको अनुभव’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उपमहासचिव ज्ञवालीले सो परियोजनालाई अघि बढाउन लागि सरकारले अव चीनसँग फण्डिङ मोडालिटीको बारेमा तत्काल छलफल गर्न‘पर्ने आवश्यक्ता समेत औंल्याए । सो परियोजनाबाट लाभान्वित हुन नेपाल आफैं अग्रसर हुनुपर्ने उनको भनाई थियो । उपमहासचिव ज्ञवालीले चीनले बाह्य मुलुकसँग हस्तक्षेप नगर्ने कुरालाई स्पष्ट पार्दै आएको उल्लेख गर्दै त्यसप्रति नेपाल गम्भिर बन्नुपर्ने उल्लेख गरे । उनले नेपालले विकासमा फड्को मार्ने हो भने पनि सो परियोजनाको कामलाई छिटो अघि बढाउन उपयुक्त हुने धारणा राखे ।