काठमाडौं । प्रभावकारी नियमनको अभाव, टाठाबाठाको ‘सिण्डिकेट’ र गलत क्षेत्रमा लगानी जस्ता कारणले इटहरीका एकपछि अर्को सहकारीमा सदस्यहरूको बचत असुरक्षित बन्दै गएको छ । कतिपय सञ्चालकको बदनियतपूर्ण व्यवहारले सर्वसाधारण लुटिइरहेका छन् । यसैक्रममा इटहरी वडा नं. ९ मा सञ्चालित खनार वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष, व्यवस्थापक, सञ्चालक समिति सदस्य, पूर्व अध्यक्षलगायतले वद्नियत राखेर ठूलो रकम चलाएको खुलेको छ । साविक खनार गाविसभर अर्थात अहिलेको इटहरी वडा नं. १०, ११ र १२ मा काम गर्ने अधिकार क्षेत्र भएतापनि वडा नं. ९ मै मुख्य कार्यालय राखेर सर्वसाधारणसँग निक्षेप संकलन गरि निक्षेप फिर्ता नगरे घटना बाहिरिएपछि त्यसमा बद्नियत देखिएको इटहरी उपमहानगरपालिको जनाएको छ । उपमहानगरपालिका सहकारी महाशाखाका प्रमुख बालकुमार पोखरेलले सर्वसाधारणको निक्षेप फिर्ता नदिने खनार वचत तथा ऋण सहकारी संस्थाको छानबीन थालिएको छ । प्रभावकारी नियमनको अभाव र गलत क्षेत्रमा लगानी जस्ता कारणले सहकारीमा रहेको सदस्यहरूको बचतकर्ताको निक्षेप असुरक्षित हुने क्रममै इटहरी उपमहानगर वडा नं. ९ मा सञ्चालित थालनी बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडले बचतकर्ताको पैसा हिनामिना गरेको सार्वजनिक भएको थियो । लगतै कामक्ष्यदेवी सहकारी संस्थाले ठूलो संख्यामा रहेका वचतकर्ताको निक्षेप नदिएर त्यसका अध्यक्ष अनिल गौतम यतिबेला पुर्पक्षका लागि कारागार चलान भएका छन् । कामक्ष्यदेवी पाँच करोड ४५ लाख ५५ हजार १८३ रुपैयाँे निक्षेप फिर्ता गर्न नसकेको उल्लेख छ । कामक्ष्दवी सहकारी संस्थाले राष्ट्र बैकको नीति विपरीत विना धितो पैसा लगानी गर्दा र अध्यक्ष गौतमले पनि ठूलै रकम आफ्नो अरु व्यवसायमा लगानी गर्दा सर्वसाधारण ठगिएको प्रहरीले जनाएको छ । नियमन र अनुगमन नहुँदा इटहरीमा सञ्चालित सहकारी संस्थाले बचतकर्ताको रकम ठगी गर्ने क्रम बढ्दो छ । जसमा इटहरीमै सञ्चालित हलेसी उपभोक्ता वचत तथा ऋण सहकारी संस्था पनि सहकारी ऐन, नियम र पद्दती अनुसार सञ्चालन नभएको उजुरी उपमहानगरपालिकामा परेको जानकारी दिइयो । सञ्चालक समितिका पदाधिकारीको मनपरी, फितलो व्यवस्थापनका कारण इटहरीमा सहकारी संस्थाबाट पीडित बन्नेहरु बढ्दै गएकोमा उपमहानगरपालिका क्षेत्राधिकार भित्र पर्ने सवै सहकारीको सुक्ष्म रुपमा निगरानी अघि बढाएको जानकारी दिइयो । इटहरी क्षेत्रमा एक सय ७५ हाराहारी सहकारी संस्था रहेका छन् ।