काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालय काठमाण्डौँले नेपालमा ६० हजार १८५ उद्योग प्रतिष्ठान रहेको तथ्याङ्क सार्वजनिक गरेको छ । कार्यालयले आर्थिक वर्ष २०७५÷०७६ मा गरेको राष्ट्रिय औद्योगिक सर्वेक्षणको प्रदेशस्तरीय नतिजा चितवनमा सार्वजनिक गरेको हो । यी उद्योग मध्ये नेपालमा औद्योगिक उत्पादन क्षेत्रका ५६ हजार ६११ उद्योग छन् । त्यसमध्ये ५ हजार १७ ठूला उद्योग छन् भने ५१ हजार ५९४ वटा साना उद्योग रहेको तथ्याङ्क सार्वजनिक भएको छ । खानी तथा उत्खनन् क्षेत्रका ३५६, विद्युत, ग्यास, बाफ तथा वातावरण अनुकुलिन सेवा क्षेत्रका ९९४ र पानीको आपूर्ति, ढल निकास, फोहोर व्यवस्थापन र त्यसको उपचारात्मक क्रियाकलापहरुको क्षेत्रका २ हजार २२४ वटा उद्योग रहेको तथ्याङ्क सार्वजनिक गरिएको छ । उद्योगहरुमध्ये सबैभन्दा धेरै बागमती प्रदेशमा १८ हजार ३३३ वटा रहेका छन् । सबैभन्दा थोरै कर्णाली प्रदेशमा १ हजार ६३५ वटा उद्योग रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक राजेश धितालले जानकारी दिए । कोशी प्रदेशमा १२ हजार २२५, लुम्वेनी प्रदेशमा १० हजार ५०८, मधेश प्रदेशमा ७ हजार २७९, गण्डकी प्रदेशमा ६ हजार ८१८, र सुदुरपश्चिम प्रदेशमा ३ हजार ३८७ वटा उद्योगहरु रहेका छन् । नेपालमा ४० प्रतिशत उद्योगहरु ऋण लिएर सञ्चालनमा ल्याइएको छ । राष्ट्रिय औद्योगिक सर्वेक्षणको तथ्याङ्कक अनुसार, वित्तिय संस्था तथा व्यक्तिबाट ऋण लिएर उद्योग सञ्चालन गरेका छन् । करिब ३४ प्रतिशत उद्योगले वित्तीय संस्थाहरुसंग ऋण लिएको छन् भने ५ प्रतिशतले साना उद्योग प्रतिष्ठानहरुबाट ऋण लिएको सर्वेक्षणले देखाएको छ । १ प्रतिशतले ऋणको प्रतिवद्धता लिएका छन् । ६० प्रतिशत उद्योगहरुले ऋण लिएका छैनन् । बार्षिक औद्योगिक क्षेत्रका चारवटै औद्योगिक प्रतिष्ठानले १२ खर्ब १ अर्ब १७ करोड रुपैयाँ बराबरको बस्तु तथा सेवा उत्पादन गरेका छन् । यो उत्पादन गर्न ८ खर्ब ४६ अर्ब ६६ करोड रुपैयाँ लागत लाग्ने सर्वेक्षण रिपोर्टमा बताईएको छ । औद्योगिक प्रतिष्ठानले नेपालको अर्थतन्त्रमा करिब ३ खर्ब ५४ अर्ब ५१ करोड बराबरको मूल्य अभिवृद्धि गरेको देखिन्छ । लागत उत्पादन अनुपातमा ० दशमलव ७० प्रतिशत रहेको छ । यी उद्योगहरुको स्थायी सम्पती ६ खर्ब १९ अर्ब ५१ करोड रहेको छ । नेपालमा सञ्चालित उद्योगहरु २७० दिन नै सञ्चालन हुँदै आएका छन् । खानी उद्योगहरु १८० देखि २६९ दिन, उद्योग प्रतिष्ठान ९० देखि १७९ दिन र बाँकी प्रतिष्ठानह ९० भन्दा कम दिन सञ्चालन भएको देखिन्छ ।