काठमाडौं । भारतले नेपालमा दुई पेट्रोलियम पाइपलाइन र एउटा ग्रीन फिल्ड टर्मिनल निर्माण गरिदिने भएको छ । नेपालमा पेट्रोलियम पदार्थ आपूर्ति गर्न भारतको सिलुगढीदेखि झापासम्म र बाराको अमलेखगन्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन, झापामा ग्रिनफिल्ड टर्मिनल (भण्डारण स्थल) निर्माण गर्न सम्झौता भएको नेपाल आयल निगमले जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा नेपालको तर्फबाट उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल र भारतका पेट्रोलियम एवं ग्यास मन्त्री हर्दिप सिंह पुरीले हस्ताक्षर गरे । सम्झौता पत्रमा दुई पाइपलाइन र झापाको टर्मिनल भारतको लगानी र चितवनको लोडरमा ग्रीन फिल्ड टर्मिनल नेपाल आयल निगमको लगानीमा निर्माण गर्ने उल्लेख छ । यो टर्मिनल निर्माणमा इन्डियन आयल कर्पोरेसनले प्राविधिक सहयोग गर्नेछ । भारतले नेपालमा दुई पेट्रोलियम पाइपलाइन र एउटा ग्रीन फिल्ड टर्मिनल निर्माण गरिदिने भएको छ । भारतसँगको सम्झौताले इन्धन आपूर्तिमा व्यवस्थित गर्न सघाउ पुग्ने नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशकुमार थानीले बताए । कुल २६ अर्ब ९३ करोड रूपैयाँका दुई पाइपलाइन र दुई टर्मिनलमा भारतले करिब १७ अर्ब रूपैयाँ लगानी गर्ने भएको छ । दुई देशबीच सम्झौता भएपछि यी सबै परियोजनाको निर्माण भने भारत सरकार स्वामित्वको आइओसीले गर्नेछ । नेपाल आयल निगम र आइओसीले संयुक्त रूपमा सन् २०२१ मा तयार पारेको प्रतिवेदनअनुसार यी चार परियोजनाको कुल लागत २६ अर्ब ९३ करोड रूपैयाँ रहेको छ । प्रतिवेदन सन् २०२१ मा तयार गरिएकाले मूल्यवृद्धिसँगै लागत बढ्ने अनुमान छ । अमलेखगन्जदेखि लोथरसम्मको ६२ किलोमिटर लामो पाइपलाइन निर्माण लागत २७४ करोड भारु छ । चितवनको ग्रिनफिल्ड टर्मिनल निर्माणको लागत ६१८ करोड भारु छ । यो टर्मिनल निर्माण खर्च निगमले बेहोर्नेछ । त्यसैगरी ५० किलोमिटर लामो सिलगुढी–झापा पाइपलाइनको लागत २८८ करोड भारु र झापाको टर्मिनल निर्माण लागत ५०२ करोड भारु छ । नेपाल आयल निगम र आइओसीले संयुक्त रूपमा सन् २०२१ मा तयार पारेको प्रतिवेदनअनुसार यी चार परियोजनाको कुल लागत २६ अर्ब ९३ करोड रूपैयाँ रहेको छ । यी परियोजनाको आइओसी र निगमले संयुक्त रूपमा अध्ययन गरेका थिए । झापाको इन्धन भण्डारण टर्मिनलको क्षमता ४२ हजार किलोलिटर र लोथर टर्मिनलको क्षमता १ लाख ३ हजार १५० किलोलिटर हुनेछ । निगमको समेत लगानीमा आइओसीले मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन निर्माण गरेपछि अहिले भारतबाट पाइपलाइन मार्फत डिजेल आयात भइरहेको छ । नेपाल र भारतबीच पेट्रोलियम पाइपलाइन बनाउने विषय डेढ दशकदेखि चल्दै आए पनि २०७६ भदौ २४ गतेदेखि मोतिहारी–अमलेखगन्ज पाइपलाइन सञ्चालनमा आएको हो । पाइपलाइनबाट पेट्रोलियम पदार्थ आयात गर्दा दर्जनौं फाइदा देखिएपछि निगमले नयाँ पाइपलाइन परियोजना निर्माण गर्न लागेको हो । पाइपलाइन निर्माणले ढुवानी भाडा बचत हुनुका साथै नेपालमा आउने पेट्रोलियम पदार्थको शुद्धता कायम राख्न र चुहावट नियन्त्रणमा सहयोग पुग्छ ।