स्थापना सम्बन्धमा विस्तृत सम्भाव्यता अध्ययन
काठमाडौं । नेपालमा रासायनिक मल कारखाना स्थापना सम्बन्धमा विस्तृत सम्भाव्यता अध्ययनका लागि लगानी बोर्ड र जर्मनस्थित डिआईएजी इण्डस्ट्रिज बीच सम्झौता भएको छ । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र डिआईएजी इण्डस्ट्रिजका प्रबन्ध निर्देशक बेन्जामिन बेकरले हस्ताक्षर गरेका छन् । सार्वजनिक निजी साझेदारी तथा लगानी नियमावली २०७७ को व्यवस्था अनुसार डिआईएजी इण्डस्ट्रिजको प्रस्तावका आधारमा लगानी बोर्डको बैठकले अध्ययन अनुमतिपत्र प्रदान गर्ने निर्णय गरेको थियो । सो अनुरूप प्रस्तावक डिआईएजी इण्डस्ट्रिजले अनुमतिपत्र प्राप्त गरेको २४ महिनाभित्र डिटेल फिजिबिलिटी स्टडी रिपोर्ट लगानी बोर्डमा पेश गर्नुपर्नेछ । सम्झौताअनुरूप डिआईएजी इण्डस्ट्रिजले प्राकृतिक ग्यास वा हाइब्रिड प्रविधिमध्ये एक प्रविधि प्रयोग गरी वार्षिक सात लाख टन रासायनिक मल (युरिया) उत्पादन गर्ने प्रस्ताव गरेको छ । जसको लागि अमेरिकी डलर ७१४ मिलियन लागत लाग्ने प्रारम्भिक अनुमान छ । साथै आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेटमा लगानी बोर्डको सहजीकरणमा सार्वजनिक–निजी साझेदारीमा नेपालमा रासायनिक मल कारखाना स्थापना सम्बन्धी विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने व्यवस्था उल्लेख छ ।