काठमाडौं । लालबन्दी नगरपालिका-१४ लङ्गुर डाँडाबाट १ हजार ६ सय १२ किलो ८ सय ५० ग्राम अवैध लागूऔषध गाँजा दिउँसो प्रहरीले बरामद गरेको छ । अवैध लागूऔषध गाँजा लुकाईछिपाई राखिएको भन्ने सूचनाको आधारमा मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर, लागूऔषध नियन्त्रण ब्यूरो जनकपुर, जिल्ला प्रहरी कार्यालय सर्लाही, सशस्त्र प्रहरी बल नेपाल सर्लाही र इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको संयुक्त टोलीले सोही नगरपालिका लङ्गुर डाँडास्थित घर धनी नखुलेको २ वटा घरमा तलासी गर्दा १६ वटा ड्रम र बोराहरूमा रहेको उक्त गाँजा र १ थान काठको गाँजा च्याप्ने मेसिनसमेत प्रहरीले बरामद गरेको हो । काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ स्थित नागढुङ्गाबाट नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन १९ एम्पुल, डाइजेपाम २० एम्पुल र प्रोमेथाइजिन हाइड्रोक्लोराइड २० एम्पुल सहित २ जनालाई बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रुपन्देही, रुपन्देही उपमहानगरपालिका -२ फुलबारी बस्ने २३ वर्षीय यम बहादुर सुनार र मणिग्राम नगरपालिका-१२ बस्ने २४ वर्षीय सेखर कुमार खड्का रहेका छन् । प्रहरी प्रभाग नागढुङगा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङगाबाट खटिएको संयुक्त प्रहरी टोलीले बुटवलदेखि काठमाडौंतर्फ आउँदै गरेको लु.२ ख १५३३ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।